काठमाडौँ भदौ ७ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड सम्बन्धी फाइल पुनः खोलेर सरकारले माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन्।
पोखरामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, “फाइलमा देखिने नामहरूमा उपेन्द्र यादव भए पनि वास्तविक प्रहार भने माओवादीमाथि भएको हो।” उनले यसलाई माओवादी आन्दोलनलाई समाप्त पार्नका लागि गरिएको षड्यन्त्रको हिस्सा बताए। प्रचण्डले कांग्रेस र एमालेको लक्षित प्रहार माओवादी केन्द्रमाथि केन्द्रित रहेको भन्दै आफ्नो पार्टीका नेता र कार्यकर्तालाई प्रतिकारका लागि तयार रहन निर्देशन पनि दिएका छन्।
उनले थपे, “हेर्दा कुलमानलाई हटाउने प्रयास जस्तो देखिए पनि साँच्चै माओवादीलाई निशाना बनाइएको छ। उपेन्द्र यादवलाई मुद्दा लागेको जस्तो भए पनि त्यो माओवादीलाई लागेको हो। जोसुकै टाउकोको मूल्य तोकिए पनि हामीमाथि राज गर्नेलाई सफल हुन दिने छैनौँ। त्यसैले उनीहरू हामीलाई समाप्त पार्न खोजिरहेका छन्।” गौर राइस मिलमा भएको उक्त घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादी सभामा आक्रमण गर्दा २७ जनाको मृत्यु भएको थियो। यस घटनाको अनुसन्धान र आरोपीमाथि कारबाहीका लागि सर्वोच्च अदालतले दुई दिनअगाडि परमादेश जारी गरेको छ।
परमादेशअनुसार तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष हालका जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाइनेछ।
