पर्सा भदौ ४ । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा औपचारिक रूपले प्रवेश गरेका छन्। राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित पार्टीको विस्तारित बैठकमा सुवेदीलाई स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्।
सुवेदी अघिल्लो समय राप्रपा नेपालमा सक्रिय थिए तर पछिल्लो समय पार्टी राजनीतिबाट निष्क्रियजस्तै थिए। पर्सामा केन्द्रीय पर्यवेक्षकका रूपमा खटिएका सिंहमार्फत सुवेदीलाई पुनः पार्टीमा सक्रिय गराइएको हो। पार्टी प्रवेशपछि सुवेदीले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको पुनः स्थापनाको आवश्यकता औंल्याउँदै राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। “छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अब एक भएर राप्रपालाई सबल र सक्षम शक्तिका रूपमा स्थापित गर्नुपर्छ,” उनले भने।
बैठकले पर्साका सबै स्थानीय तहमा संगठन विस्तार, निष्क्रिय कमिटीहरूलाई सक्रिय तुल्याउने र विभिन्न तहका अधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिए।
