काठमाडौँ भदौ ४ । भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले बोल्न समय दिएका रास्वपा सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानामगरमाथि भएको व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताको अपमान भएको बताए।
“लोकतन्त्रको विरासत धानेका भनिने दलहरूले उपसभामुख जस्तो संवैधानिक पदप्रति गरिएको अवमूल्यन लोकतन्त्रकै लागि खतरा हो,” परियारले सदनमा भने। राप्रपाकी सांसद रोसन कार्कीले पनि भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि समिति गठन नभएसम्म विरोध जारी राख्ने चेतावनी दिइन्। उनले आफूहरूले बहिष्कार गरेको दिनको भत्ता नलिने घोषणासमेत गरिन्।
बोलिसकेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए। रास्वपा र राप्रपा जेठ १३ गतेदेखि निरन्तर रुपमा उक्त प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध जनाइरहेका छन्।
