दिल्लीकी मुख्यमन्त्रीलाई थप्पड हानेपछि तनाव फैलियो

भारत भदौ ४ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको निवासमा नै सार्वजनिक सुनुवाइ चलिरहेको समयमा आक्रमण प्रयास भएको छ। मिडिया रिपोर्ट अनुसार, एक ३५ वर्षीय व्यक्तिले अचानक मुख्यमन्त्रीलाई थप्पड हानेका छन्। आक्रमणकारीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।

घटनाको विवरण अनुसार, सार्वजनिक सुनुवाइको क्रममा उक्त पुरुषले मुख्यमन्त्रीलाई केही कागजातहरू बुझाएका थिए। कागजात हेरेपछि भनाभन बढ्दै गएपछि अचानक उनले मुख्यमन्त्रीलाई थप्पड प्रहार गरेका थिए। घटना कडा निन्दनीय रहेको भन्दै दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सक्सेनाले प्रतिक्रिया व्यक्त गरेका छन्।

सक्सेनाले भने, “आरोपीले मुख्यमन्त्रीको हात तानेका थिए र त्यस क्रममा उनको टाउको टेबलको कुनामा ठोक्किएको छ। थप्पड प्रहार हुनु गलत र निन्दनीय घटना हो।” दिल्ली मुख्यमन्त्री कार्यालयले पनि विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे। आरोपीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।”

यो घटना दिल्लीको राजनीतिक माहोलमा नयाँ तनाव थप्ने संभावनामा छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ