सप्तरी भदौ ४ । सप्तरीको राजगढ गाउँपालिका–५ का अध्यक्ष देवेन्द्र साहको निधन भएको छ। लामो समयदेखि अर्बुद क्यान्सर रोगबाट पीडित ७० वर्षीय साहको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको हो।
राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले अध्यक्ष साहको निधनको पुष्टि गरेकी छन्। साह पछिल्ला तीन वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी जसपा को तर्फबाट उम्मेदवारी दिएका साह वडा नम्बर ५ बाट निर्वाचित भएका थिए। सामाजिक रूपले सक्रिय र सरल स्वभावका साहको निधनले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। स्व.साहका दुई छोरा र तीन छोरी छन्। गाउँपालिकाले औपचारिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ।
