नेपाली कांग्रेस शोकमा, पुराना नेता कोइरालाको निधन

काठमाडौँ भदौ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व बासुशरण कोइरालाको निधन भएको छ। कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा ९३ वर्षीय कोइरालाको निधनप्रति दुःख व्यक्त गरिएको छ। २०१२ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका कोइराला पार्टीका विभिन्न तहमा रहँदै सर्लाही जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका थिए।

विसं २०१५ को संसदीय निर्वाचनदेखि २०३०–३२ को सशस्त्र संघर्ष र २०४२ को सत्याग्रहसम्म उनले पार्टीको आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। किसान आन्दोलनको नेतृत्वसमेत गरेका कोइराला नेपाल किसान संघका केन्द्रीय अध्यक्ष पनि भएका थिए। सामाजिक सेवामा पनि सक्रिय रहेका कोइरालाले सर्लाही र काठमाडौंमा ‘नवजीवन विद्याश्रम’ सञ्चालन गरी निःशुल्क शिक्षाको व्यवस्था गरे भने सर्लाहीको जुटपानीमा वृद्धाश्रम स्थापना गरी वृद्ध–वृद्धाहरूको सेवा गर्दै आएका थिए।

स्वास्थ्य विज्ञान अनुसन्धानका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उनले आफ्नो पार्थिव शरीर धरानस्थित बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने घोषणा गरेका थिए। उनी श्रीमती मन्जु कोइराला, दुई छोरी मीनु र रेबिका, र छोरा नीरजको साथमा परिवारमा थिए। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदान सदैव स्मरणीय रहने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ