काठमाडौँ भदौ १ । देशभर यस वर्षको धान रोपाइँको गति केही सुस्त देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १ भदौसम्म कुल ९४.१५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको सोही मितिको तुलनामा झण्डै ४ प्रतिशतले कम हो।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपिएको छ। गत वर्ष यही अवधिमा भने ९८.४४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो।
प्रदेशगत विवरण हेर्दा केही क्षेत्रमा रोपाइँको प्रगति उल्लेखनीय देखिएको छ भने केहीमा पछिल्लो वर्षको तुलनामा गिरावट आएको छ।
कोशी प्रदेशमा २५ साउनसम्म ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ९९ प्रतिशतको तुलनामा कम हो।
मधेश प्रदेशमा ३० साउनसम्म ८६.३५ प्रतिशत रोपाइँ मात्रै सकिएको छ, गत वर्ष यो दर ९७ प्रतिशत थियो।
बागमती प्रदेशमा ९७.२७ प्रतिशत रोपाइँ भएको छ, जबकि अघिल्लो वर्ष ९९ प्रतिशत पुगेको थियो।
गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, अघिल्लो वर्ष ९८ प्रतिशत थियो।
लुम्बिनी प्रदेशमा भने रोपाइँ दर ९८.०७ प्रतिशत पुगेको छ, जुन गत वर्षको स्तरमा ९८% जस्तै हो।
कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै बढी हो।
सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जुन अघिल्लो वर्षको १०० प्रतिशतको नजिक छ।
समग्रमा, जलवायु परिवर्तन र असमान मौसमी अवस्था जस्ता कारणले रोपाइँमा ढिलाइ भएको अनुमान गरिएको छ। मन्त्रालयले बाँकी क्षेत्रहरुमा रोपाइँ कार्य छिटो सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
