जनकपुरधाम भदौ १ । सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय पक्राउ परेका छन्। उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार अधिवक्ता रायसहित तीन जनामाथि गत १२ माघ २०८१ मा धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको हो। कुहिरो लागेको बिहान ती व्यक्तिहरूले पीडितमाथि जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।
पीडित महिलाले सो घटनापछि तत्कालै इलाका प्रहरी कार्यालयमा जाहेरी दिन खोजेपनि दर्ता नभएपछि उच्च अदालत जनकपुरमार्फत परमादेश ल्याउनुपरेको थियो। परमादेशपछि मात्र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो। पक्राउ परेका रायलाई आज धनुषा जिल्ला अदालतमा पेश गरी म्याद थपको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
