आज श्रीकृष्ण जन्माष्टमी पर्व धूमधामसँग मनाइँदै

जनकपुरधाम साउन ३१ । आज देशभरि भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’ धूमधामसँग मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मिएका ज्ञानयोगी, कर्मयोगी र भक्तियोगी भगवान् श्रीकृष्णको सम्झनामा विशेष पूजा, प्रवचन र भजनकीर्तन भइरहेको छ।

श्रीकृष्ण जन्माष्टमीलाई ‘मोहरात्री’ पनि भनिन्छ जहाँ भक्तजनहरू विशेष व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा छ। कंस, जरासन्ध र शिशुपालजस्ता दानवी शक्तिहरूको विनाश गर्ने भगवान् श्रीकृष्णले मानव समाजलाई सत्य र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिएका थिए। कुरुक्षेत्रको युद्धमा पाण्डव अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भागवतगीता’ विश्वकै चर्चित धार्मिक ग्रन्थ हो जसलाई गीता भनेर पनि चिनिन्छ। यो ग्रन्थ विश्वभर विभिन्न भाषामा अनुवाद भइसकेको छ।

आज पाटनको मङ्गलबजारस्थित कृष्णमन्दिरमा मेला लाग्ने र काठमाडौंका विभिन्न श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको भीड लाग्ने अपेक्षा गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन कार्यालयका कृष्ण मन्दिरमा पनि ठूलो संख्यामा भक्तजनहरू पुगेका छन्। यसैगरी, राजधानीका विभिन्न स्थानमा धार्मिक संघसंस्थाहरूले झाँकी र रथयात्रा निकालेर जन्माष्टमीको उल्लास मनाउने क्रम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ