श्रीकृष्णको शिक्षाले मानवता र धर्मको मार्ग देखाउँछ” – उपराष्ट्रपति यादव

काठमाडौँ साउन ३१ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा सबै नेपालीलाई अग्रसर हुन आग्रह गरेका छन्। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलले आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उनले यस्तो अपिल गरेका हुन्।

उपराष्ट्रपति यादवले श्रीकृष्णको जीवनलाई केवल धार्मिक विश्वासको मात्र विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतको रूपमा व्याख्या गरे। उनले भने, “श्रीकृष्णका बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएका छन्।”

उनले अर्जुनका सारथी बनेर श्रीकृष्णले सेवा भावको सर्वोच्च उदाहरण प्रस्तुत गरेको बताए र थपे, “यो उदाहरणले देखाउँछ कि नेतृत्व मात्र होइन, सेवा पनि उच्च गुण हो।” युवा उपराष्ट्रपति यादवले श्रीकृष्णको जीवनकथा सङ्गीत, नृत्य, चित्रकला र साहित्यमा गहिरो प्रेरणाको स्रोत बनेको बताए। उनले बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकको रूपमा व्याख्या गर्दै उपस्थितहरूलाई आध्यात्मिक चेतना फैलाउन आग्रह गरे।

कार्यक्रममा विभिन्न धर्मगुरु, सामाजिक अगुवा र भक्तजनहरू सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ