जनकपुरधाम साउन ३० । मधेस प्रदेशको सुरक्षा प्रशासनमा नयाँ अध्याय सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष समारोहका बीच जनकपुरधाम वडा नं. ४ मा निर्माण सम्पन्न भएको मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गरेका छन्।
करिब रु २३ करोड १० लाख लागतमा सम्पन्न सो भवन प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिएको हो। ६८ वटा कार्यकक्षहरू समेटिएको यो भवनले प्रदेश प्रहरीलाई अब स्थायी संरचना प्रदान गर्ने भएको छ। यसअघि भाडाको घरमा सञ्चालन हुँदै आएको प्रदेश प्रहरी कार्यालय अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। प्रदेश सरकारका अनुसार, नयाँ भवन सञ्चालनमा आएसँगै सुरक्षा सेवा अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास गरिएको छ।
भवन निर्माणको जिम्मा पाएको शिवालय सुवेदी जेभी कम्पनीले तोकिएको समयमै निर्माण सम्पन्न गरेको हो। यस भवनको शिलान्यास तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले गरेका थिए। प्रधानमन्त्री ओलीको उद्घाटनसँगै प्रदेश प्रहरीको कार्यक्षमता, आत्मविश्वास र नागरिकप्रतिको सेवा भावनामा नयाँ उचाइ आउने आशा गरिएको छ।
