जनकपुरधाम साउन ३० । यस वर्ष असारमा अपेक्षित वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ भएको थियो। विशेष गरी तराई क्षेत्रमा मनसुनको कमजोर उपस्थिति हुँदा रोपाइँ प्रभावित भएको कृषि विभागले जनाएको छ।
तर साउन लागेपछि वर्षा सक्रिय भएपछि रोपाइँले तीव्रता लिएको छ। कृषि विभागका अनुसार साउन महिनामात्रै ४ लाख ३८ हजार हेक्टर जमिनमा धान रोपिएको छ। यससँगै साउन २५ गतेसम्म कुल १२ लाख ५४ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको विभागले जानकारी दिएको छ। असार मसान्तसम्म ८ लाख १६ हजार हेक्टरमा रोपाइँ भएको थियो।
प्रदेशगत विवरण अनुसार साउनमा कोशी प्रदेशमा १ लाख ४६ हजार हेक्टर र मधेश प्रदेशमा १ लाख ५९ हजार हेक्टर जमिनमा रोपाइँ भएको छ। गत वर्षको तुलनामा रोपाइँको प्रगति केही ढिलो देखिए पनि समग्रमा ९१ प्रतिशत धान योग्य जमिनमा रोपाइँ सकिएको विभागको आँकडा छ।
कृषि विभागका अनुसार हाल १३ लाख ७९ हजार हेक्टर जमिन धान खेतीका लागि उपयुक्त छ। साउन मसान्तसम्म बाँकी रहेको रोपाइँ कार्य पूरा हुने विभागको अनुमान छ।
