जनकपुरधाम साउन २९ । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० परित्याग गरेका नेता अनिल कुमार झाले नेतृत्व गर्दै पार्टी पुनः सक्रिय बनाएका हुन्। निर्वाचन आयोगले उक्त पार्टीलाई बुधबार औपचारिक मान्यता दिएको हो।
मधेशवादी आन्दोलनका प्रभावशाली नेताहरूमध्ये एक अनिल झा २०७४ सालको प्रतिनिधिसभा चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी सो अवधिमा खानेपानीमन्त्रीसमेत बनेका थिए। तर, २०७९ सालको आम निर्वाचनमा भने झा पराजित भए। २०७४ सालमा मधेशकेन्द्रित ६ वटा दलबीच एकीकरण भई नयाँ दल निर्माण भएपछि नेपाल सद्भावना पार्टी निष्क्रियजस्तै भएको थियो। अब झाको नेतृत्वमा पार्टी पुनर्गठन भएसँगै मधेश राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ।
झा हालै लोसपा परित्याग गरी पुनः सक्रिय रूपमा सद्भावना पार्टीमा फर्किएका हुन्। पुनर्गठित पार्टीले निकट भविष्यमा संगठन विस्तार र राजनीतिक कार्यदिशाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ।
