कैदीको मृत्युपछि नारायणी अस्पतालमा चर्कियो तनाव

पर्सा साउन २७ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका एक कैदीको मंगलबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ निवासी ३२ वर्षीय राहुल साहको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

प्रहरी प्रमुख गौतम मिश्रका अनुसार, बिहान कारागारभित्र व्यायाम गर्दै गर्दा साहलाई अचानक स्वास्थ्य समस्या देखिएको थियो। उनलाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए। अदालतले उनलाई २५ वर्षको कारावास सजाय तोकेको थियो। मृत्युको खबर सार्वजनिक भएलगत्तै मृतकका आफन्तले नारायणी अस्पताल बाहिर टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकहरूलाई गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्।

परिवारका अनुसार, प्रारम्भिक उपचारपछि नारायणी अस्पतालले साहलाई थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो। तर, जेल प्रशासनले त्यसका लागि अनुमति नदिँदा उपचारमा ढिलाइ भई साहको मृत्यु भएको उनीहरूको दाबी छ। आफन्तहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ