पप्पु कन्स्ट्रक्सन मालिक रौनियारसहित भ्रष्टाचार मुद्दामा अदालतको सुनुवाइ शुरु

काठमाडौँ साउन २७ । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको गुणस्तरहीन पुल निर्माण प्रकरणमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ। न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत साउन २० गतेदेखि मुद्दा हेर्दै आएको छ।

विशेष अदालतले हरिनारायण र उनका छोरा सुमित रौनियारलाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना र कैदको सजाय सुनाएको थियो। दोषी ठहर गरिएका ८ जनाले फरक मितिमा पुनरावेदन लिएर सर्वोच्चमा मुद्दा पुगेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनालाई प्रतिवादी बनाएर पुनरावेदन दायर गरेको थियो। दुवै पक्षका पुनरावेदनलाई एकसाथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा भ्रष्टाचार भएको ठहर भएको थियो। पुल उद्घाटन नहुँदै नै भत्किएपछि अख्तियारले २०७५ साल असोज १९ गते मुद्दा दायर गरेको थियो। यससँगै कर्मचारीहरू मनोज श्रेष्ठ, भानु जोशी, राजेशकुमार यादवलगायतलाई पनि जरिवाना र कैदको सजाय सुनाइएको छ। विशेष अदालतले केही अभियुक्तहरूलाई सफाइ पनि दिएको थियो।

विशेष अदालतले तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आठ जनालाई दोषी र चार जनालाई सफाइ दिएको थियो। यो मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ