देशभर धान रोपाइँ ९१ प्रतिशत पुगेपछि कृषकहरूको खुशी

काठमाडौँ साउन २७ । नेपालमा यस वर्ष ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशत बढी हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार करिब १२ लाख ५४ हजार हेक्टर जमिनमा रोपाइँ भइसकेको छ भने मुलुकभरि करिब १४ लाख हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त छ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ भइसकेको छ। भदौको दोस्रो सातासम्म यो प्रतिशत ९८ मा पुग्ने अनुमान छ। तर मधेश प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यो क्षेत्रफलमा ९७ प्रतिशत रोपाइँ गरिएको थियो। मौसममा ढिलाइ र मनसुन सक्रिय नहुनुले मधेश प्रदेशमा रोपाइँमा कमी आएको जोशीले बताए।

धान उत्पादनमा तराई क्षेत्रले मुख्य भूमिका निर्वाह गर्दै आएको छ। यो क्षेत्रबाट कुल उत्पादनको ७० प्रतिशत धान उत्पादन हुन्छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ। आर्थिक वर्ष २०७९र८० मा देशमा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष ६० लाख मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने देखिएको छ।

प्राकृतिक विपद्, अतिवृष्टि, अनावृष्टि र मौसमको प्रतिकूलताका कारण कतिपय क्षेत्रमा रोपाइँमा ढिलाइ हुने गरेको तर नयाँ प्रविधि र उन्नत बीउका कारण उत्पादनमा वृद्धि हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ