सप्तरीमा सडक दुर्घटनाले लियो एकको ज्यान, दुई घाइते

सप्तरी साउन २६ । सप्तरीको शम्भुनाथ नगरपालिका–८ स्थित पोखरियामा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन्।

भित्री सडक खण्डमा प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु र मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुर्घटनामा शम्भुनाथ नगरपालिका–२, कनकपटीका २४ वर्षीय अजयकुमार चौधरी गम्भीर घाइते भएका थिए। उनलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यही दुर्घटनामा टेम्पु चालक ४५ वर्षीय मणिलाल मण्डल र उनकी पत्नी ४० वर्षीया आशादेवी मण्डल घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटना पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको टेम्पु र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको हो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ