काठमाडौँ साउन २६ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिने स्पष्ट व्यवस्था गर्न लागिएको बताएका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले आमाका आधारमा नागरिकता उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउने लक्ष्यसहित नागरिकता ऐन दोस्रो संशोधन विधेयक अघि बढाइएको जानकारी गराए।गृहमन्त्री लेखकले भने, बुबाको मृत्यु भएको, सम्पर्कविहीन रहेको वा नागरिकता दिन सहयोग नगरेको अवस्थामा सन्तानले आमाको नामबाटै नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था ल्याउन लागिएको हो। उनले आमाको जिम्मेवारी वा सहमति पर्याप्त हुने प्रावधान प्रस्ताव गरिएको उल्लेख गरे।
उनका अनुसार, बुबा बेपत्ता, बाहिर गएका वा दोस्रो विवाह गरेका अवस्थामा समेत सन्तानले आमाको नाममा नागरिकता पाउने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतको निर्देशकात्मक आदेशअनुसार सरकार नागरिकता सम्बन्धी कानुन परिमार्जनमा लागेको बताउँदै गृहमन्त्री लेखकले भने, यदि सन्तानले विदेशी नागरिकता लिएको छैन भने, आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ।
नयाँ विधेयकमार्फत सन्तान र आमाको मौलिक अधिकार सुरक्षित गर्ने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारे।
