काठमाडौँ साउन २६ । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान काठमाडौंको हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।
पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीचको यस भेटमा वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गरिएको स्रोतले जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको सुदृढीकरण र यथास्थितिको अन्त्यका लागि राजनीतिक पहलको आवश्यकता विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको बताइएको छ।
भेटमा लोकतान्त्रिक उपलब्धिको रक्षा, समृद्धि र समाजवादतर्फको मार्गचित्र निर्माणमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको स्रोतको भनाइ छ। साथै, अहिलेको राजनीतिक जटिलतालाई सम्बोधन गर्न संघर्षरत प्रगतिशील शक्तिबीच नयाँ सहकार्य र पहल आवश्यक भएको निष्कर्ष निकालिएको छ।
भेटवार्ताको क्रममा दुवै नेताले आ–आफ्ना अघिल्लो राजनीतिक अभ्यासमा कमजोरीहरूको आत्मालोचना गर्दै, आगामी दिनमा एकताबद्ध भएर अघि बढ्ने सम्भावनाबारे समेत विचारविमर्श गरेको जनाइएको छ। यो भेटले प्रगतिशील शक्तिबीच बढ्दो संवाद र सहकार्यको संकेत दिएको छ। यसअघि नेता श्रेष्ठले विप्लव नेतृत्वको नेकपा, नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसाल, तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
