पर्सा साउन २५ । पर्साको ठोरी गाउँपालिका ९४०, मालीबस्ती नजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ।
पर्सा प्रहरीले सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए अनुसार, आज बिहान साढे ७ बजे आसपास ठोरीको मालीबस्तीस्थित हुलाकी सडकबाट लगभग ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा फेला परेको हो।
स्थानीय बासिन्दाले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको नेतृत्वमा टोली खटिएको छ। अहिले घटनास्थलमा अनुसन्धान जारी रहेको छ। साथै पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि पुगेको छ।
पर्सा प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकीबाट करिब ४ किलोमिटर टाढा छ। पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेका अनुसार, मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्जमा ल्याइएको छ। शवको बाहिरी भागमा सामान्य चोटपटक देखिएको छ। ती चोटहरू पाटेबाघ आफैंले लगाएको हो वा अन्य कारणले लागेको हो भन्ने विषयमा भने शव परीक्षणपछि मात्रै थप जानकारी उपलब्ध हुनेछ।
