‘तराईमा हरियाली फर्काउन सरकार कटिबद्ध छ’ – ओली

काठमाडौँ साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको दीर्घकालीन समाधान खोज्न सरकार दृढ रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मधेस प्रदेशका आठ जिल्लामा ७६। ५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै, उनले सिँचाइ समस्याको स्थायी समाधान ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीका अनुसार, सुक्खाको असरले अन्न भण्डारका रूपमा चिनिने तराईका खेतमा गम्भीर असर पारेको थियो। कतिपय स्थानमा पानीको अभावले रोपेको बिउसमेत नष्ट हुन थालेको जनाउँदै उनले सरकारद्वारा सुक्खा ग्रस्त क्षेत्र घोषणा गरी राहत र सहयोग कार्यक्रम अघि बढाइएको स्मरण गराए।

ओलीले भने, “अब आगामी वर्षदेखि आकासे पानीमा भर नपरेर स्थायी सिँचाइ प्रणाली विकास गरिनेछ। किसानको पसिना माटोमै सुक्ने अवस्था अन्त्य गर्न हामी कटिबद्ध छौं।” उनले तत्कालका लागि ५०० डिपबोरिङ जडान सुरु गरिएको र दीर्घकालीन योजनाअन्तर्गत सुनकोसी–मरिन डाइभर्सन योजना अघि बढाइएको जानकारी दिए।

“प्रकृतिले पनि हामीलाई पछिल्लो साता साथ दिएको छ। अहिले धान रोपाइँले गति लिएको छ। केही दिनमा तराईमा हरियाली लहराउनेछ,” प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्रीले किसान, विशेषगरी महिलाको सक्रिय सहभागितामा रोपाइँ भएको भन्दै देशभरका कृषकप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ