हेटौंडा जाने बाटोमै दुर्घटना: छोरासँग भेट नहुँदै आमाको मृत्यु

रामेछाप साउन २५ । रामेछापको मन्थलीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। मन्थली नगरपालिका–६ स्थित बोक्से भीरमा बिहान साढे ५ बजे बा १३ च ३९३५ नम्बरको गाडी दुर्घटना हुँदा मन्थली–११ की ४० वर्षीया राधा कार्कीको घटनास्थलमै ज्यान गएको हो।

गाडीमा राधा कार्की र उनका श्रीमान् उत्तम चौहान सवार थिए। चौहान घाइते अवस्थामा भेटिएका छन् र उनको उपचार अहिले धुलिखेल अस्पतालमा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता, प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार उनीहरू मन्थलीबाट हेटौंडातर्फ जाँदै थिए। “उहाँहरू छोरालाई भेट्नका लागि हेटौंडा जान लाग्नु भएको थियो,” स्थानीयको भनाइ उद्धृत गर्दै इन्स्पेक्टर न्यौपानेले जानकारी दिए।

राधा कार्की मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी थिइन्। दुर्घटनामा प्रयोग भएको गाडी बोक्से भीरबाट करीब ३ सय मिटर तल खसेको थियो। कार्कीको शव सडकबाट करिब २० मिटर तल अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ