जनकपुरधाम साउन २५ । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ब्रह्मपुरीको थापा चोक नजिक आज बिहान भएको रेल र कारको ठोक्किन दुर्घटनामा तीन जना घाइते भएका छन्। नेपाल रेल्वेको रेल र एक निजी कार एकआपसमा ठोक्किँदा कारमा सवार यात्रुहरू सामान्य घाइते भएका हुन्।
बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको कार बिहान करिब ८ः३० बजे महोत्तरीस्थित पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलसँग क्रसिङ एरियामा ठोक्किएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार दुर्घटनाका कारण रेल सेवा केही समय अवरुद्ध भएको थियो।
प्रत्यक्षदर्शीहरूका भनाइ अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो। कारमा तीन जना सवार थिए, जसमा सबैलाई सामान्य चोटपटक लागेको र कारमा भने ठूलो क्षति पुगेको जनाइएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।
