बारा साउन २२ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा भएको दुर्घटनामा एक क्रेन अपरेटरको ज्यान गएको छ।
गए राति क्रेनमार्फत फलाम उठाउने क्रममा फलाम आफैंले ठोक्किँदा भारत उत्तर प्रदेश, ननौरा बलिया घर भएका ५३ वर्षीय रामभवन यादव गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। उद्योग सञ्चालनमा रहेका सुरक्षात्मक व्यवस्थाबारे प्रश्न उठाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ।
