जनकपुरधाम साउन १९ । जनता समाजवादी पार्टी नेपाल जसपा ले पार्टीको नीति, विधान र सिद्धान्त विपरीत गतिविधि गरेको आरोपमा पार्टी नेतृ प्रमिलाकुमारी सिंहलाई निष्कासन गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपाले सिंहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। सिंह पार्टीको केन्द्रीय सदस्य हुनुका साथै समाजवादी महिला संघको केन्द्रीय उपाध्यक्ष थिइन्।
पार्टीको केन्द्रीय कार्यालय सचिव पेशल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको तत्कालीन केन्द्रीय सदस्य तथा समाजवादी महिला संघको केन्द्रीय उपाध्यक्ष प्रमिलाकुमारी सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत कार्य गरेकाले आजको मितिबाट निष्कासन गरिएको छ।” यस विषयमा प्रमिलाकुमारी सिंहको प्रतिक्रिया सार्वजनिक भएको छैन।
