काठमाडौं साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने निर्णय गर्नका लागि साँझ ५ बजे बोर्डको बैठक बस्ने तालिका रहेको छ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी स्वरूप आइतबार डेमो परीक्षण गरिएको थियो। हिजो डेमो गरिएको थियो, आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,ू स्रोतले अनलाइनखबरलाई जानकारी दियो। शैक्षिक क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा प्रकाशन हुनुपर्ने भए पनि गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण सार्वजनिक गर्न ढिलाइ भएको हो। २९ दिन लामो उक्त आन्दोलनले बोर्डको कामकाज प्रभावित बनेको थियो।
यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो, जुन प्रारम्भमा वैशाख ११ मा तय गरिएको भए पनि आन्दोलनका कारण स्थगित भएको थियो। परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए।
