जनकपुरधाम साउन १९ । मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनेको संख्या सात लाख ७९ हजार २ सय ६५ पुगेको छ। यो प्रदेशको कुल जनसंख्याको करिब १३ प्रतिशत हो।
स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गर्दै घरदैलो अभियान चलाइएको छ। प्रदेश सरकारले सहिद परिवारलाई निःशुल्क बीमा गराउँदै आएको छ, यद्यपि सबै परिवारलाई समेट्न अझै कठिनाइ भइरहेको संयोजक कुशवाहाले बताए।
जटिल रोगका बिरामीका लागि बीमा सीमा रु एक लाख थप गरिएको छ। साथै, आधारभूत अस्पतालहरूलाई पनि बीमा सेवामा ल्याउने तयारी भइरहेको छ। स्वास्थ्य बीमा कार्यक्रम मधेसमा २०७३ सालदेखि सुरू भई २०७५ सालमा सबै जिल्लामा विस्तार भएको हो। बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए । फरक सामाचार
