सडक दुर्घटनामा परेका दुईमध्ये एकजनाको ज्यान गयो

रौतहट साउन १८ । फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा आइतबार बिहान भएको एक सवारी दुर्घटनामा एक पूर्व प्रहरीको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छिन्।

बिहान करिब १० स् ३० बजे विजयपुरबाट जंगलसैयातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक ६० वर्षीय सुशिल कुमार क्षेत्री गम्भीर घाइते भए भने पछाडि सवार उनकी ५५ वर्षीया श्रीमती रिता रोक्का सामान्य चोटसहित घाइते भएकी छन्।

घाइते दम्पतीलाई तुरुन्तै एम्बुलेन्समार्फत उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो। तर डाक्टरले सुशिल कुमार क्षेत्रीलाई मृत घोषणा गरेका छन्। क्षेत्री नेपाल प्रहरीका पूर्व असई रहेको जनाइएको छ। दुर्घटनापछि पिकअप गाडी चालक फरार भएको र घटनास्थल नजिकैको सीसीटिभी फुटेजमा ‘को २ त ३२६३’ नम्बरको गाडी देखिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख, इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए।

दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने फरार पिकअपको खोजीका लागि टोली परिचालन गरिएको छ। दुर्घटनास्थल प्रहरी चौकी दुधिअवाबाट करिब एक किलोमिटर पूर्वमा पर्दछ। मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा रहेको छ भने घाइते रिता रोक्काको अवस्था सामान्य रहेको र अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ