सिरहा छोटी भन्सारको राजस्व ग्राफ उकालो लाग्दै

सिरहा साउन १७ । सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय उकालो यात्रा तय गरेको छ।

आर्थिक वर्ष २०७९र८० मा जम्मा १९ लाख ६६ हजार रुपैयाँ मात्रै संकलन गर्न सकेको यो भन्सार कार्यालयले २०८०र८१ मा ४६ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको थियो। त्यसपछि २०८१र८२ मा झन्डै ७० लाख रुपैयाँ राजस्व संकलन गर्दै तीन वर्षमा तीन गुणाभन्दा बढी वृद्धि देखाएको छ।

छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार अहिले मासिक सरदर ६ लाख रुपैयाँ बराबरको राजस्व उठ्न थालेको छ। ूयहाँबाट मुख्यतः खाद्यान्न, किराना सामग्री, खेलौना, मेलापर्वका सामान र सजावटका वस्तुहरू आयात हुने गरेका छन्,ू उनले बताए। राजस्व वृद्धिको पछाडि सीमावर्ती व्यापारको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार, र आयातकर्ताको सक्रियता रहेको प्रमुख केसीको भनाइ छ।

व्यापारीहरू पनि सेवा प्रवाहमा सुधारको अनुभव गर्दै आएका छन्। स्थानीय व्यवसायी मुकेशकुमार यादव भन्छन्, “पहिला भन्सार प्रक्रियामा धेरै झन्झट थियो। अहिले भने सजिलोसँग सामान ल्याउन सकिन्छ, प्रक्रिया छरितो भएको छ।”

प्रमुख केसीका अनुसार चाडपर्व नजिकिँदै गएकाले आगामी महिनामा व्यापारिक गतिविधि अझै बढ्नेछ र राजस्व संकलन पनि उच्च हुने अपेक्षा गरिएको छ। भारतसँग सिमाना जोडिएको सिरहामा हाल माडर र ठाडी गरी दुई मुख्य भन्सार र बरियारपट्टीमा एउटा छोटी भन्सार सञ्चालनमा छन्, जसले गाउँस्तरका सस्तो तथा दैनिक प्रयोगका सामग्री भित्र्याउन सहजता प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ