लागू औषध नियन्त्रणमा कुनै सम्झौता हुने छैन : गृहमन्त्री लेखक JNखबर

काठमाडौं साउन १६ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधमुक्त बनाउन प्रहरी प्रशासनलाई अझ प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोको निरीक्षण गर्दै गृहमन्त्रीले लागू औषधसम्बन्धी चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसले सडक दुर्घटना, आत्महत्या र साइबर अपराधसम्म उत्पन्न गरिरहेको उल्लेख गरे। ‘हामीले लागू औषधविरुद्धको महाअभियान चलाएका थियौं, जसले सार्थकता पाएको छ,’ उनले भने।

उनका अनुसार विगतको तुलनामा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणको काममा उल्लेखनीय प्रगति देखिएको छ। ‘स्रोत साधनको अभाव भए पनि इच्छाशक्ति भए ठूलो परिणाम ल्याउन सकिन्छ भन्ने कुरा गत एक वर्षको अनुभवले देखाएको छ,’ उनले थपे। गृहमन्त्रीले लागू औषधविरुद्धको अभियानमा सबै तहबाट सहयोग आवश्यक रहेको उल्लेख गरे। ‘विशेषगरी युवावर्ग लागू औषधको लतमा परेको अवस्था छ, जुन हाम्रो देशको भविष्यका लागि गम्भीर खतरा हो,’ उनले भने, ‘यो प्रहरीको मात्र होइन, सम्पूर्ण समाजको सरोकार हो।’

कार्यक्रममा गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण ब्युरोलाई विभागको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि तयारी अघि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए। महानिरीक्षक थापाले गृहमन्त्रीको प्रस्तावको समर्थन जनाउँदै विभागीय रूपान्तरणलाई समयको आवश्यकता भएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ