प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण आइतबार शुरू हुँदै

काठमाडौँ साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तान प्रस्थान गर्ने भएका छन्। उनी त्यहाँ भूपरिवेष्ठित विकासशील देशहरूसम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन जाँदै छन्। साउन २० देखि २५ गतेसम्म तुर्कमेनिस्तानको राजधानी अवाजामा हुने सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच बैठकमा सह–अध्यक्षको भूमिका निर्वाह गर्नुका साथै अन्य सत्रहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, उनले सम्मेलनको साइडलाइनमा विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रहरूको साझा चुनौती र विकासको एजेन्डालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले प्रधानमन्त्री ओलीको भ्रमणलाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ