काठमाडौँ साउन १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। निगमका अनुसार पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५९ रुपैयाँ तोकिएको छ। तर डिजल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढेर १५० रुपैयाँ पुगेको छ।
यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलरमा २१ डलरले वृद्धि गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने स्थिर राखिएको छ। नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भईसकेको छ।
यस मूल्य समायोजनपछि उपभोक्ताहरुमा मिश्रित प्रतिक्रिया देखिएको छ। पेट्रोलको मूल्य घट्दा सवारी साधन सञ्चालकहरूले भने राहतको अनुभव गरेका छन् भने डिजल र मट्टितेलको मूल्य वृद्धिले कृषक र उद्योग क्षेत्रमा केही दबाब बढ्न सक्ने देखिन्छ। नेपाल आयल निगमले आवश्यक परेको अवस्थामा मूल्य पुनः समायोजन गर्ने सम्भावना रहेको जनाएको छ।
