काठमाडौँ साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सुशासन र विकास अभियान तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले समृद्धि हासिल गर्न नेपालको प्रयास निरन्तर जारी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “नेपाललाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउन हामी दृढ छौं। हाम्रो साझा आकांक्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो र त्यसलाई साकार पार्न हामी सबै एकजुट भएर अघि बढिरहेका छौं।”
उनले सैनिक कल्याणकारी कोषले देशको सुरक्षा र भूतपूर्व सैनिकहरूको कल्याणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै कोषको आम्दानी श्रोत घट्दै गएको विषयमा चिन्ता व्यक्त गरे। “सैनिक कल्याणकारी कोष विभिन्न कार्यक्रममार्फत नेपाली सेना र भूतपूर्व सैनिकहरूलाई एकजुट गराउँदै आएको छ, जसले राष्ट्रिय सुरक्षामा थप बल पुर्याउँछ,” प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि दोहोर्याए।
