दाङ साउन १५ । दाङको तुलसीपुरमा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा दुई किशोरले ज्यान गुमाएका छन् भने तीनजना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा ट्याक्टर चालक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
दुर्घटना तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७, मोतिपुरको ओरालोमा बिहान ११ बजे भएको हो। रा १ त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनापछि ट्याक्टरले च्यापेका उनीहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर अस्पतालमा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।
घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी सामान्य घाइते भएका छन्। ट्याक्टर चालक तुलसीपुर–१७, मानपुरका २६ वर्षीय सुरेश चौधरीको बायाँ हातमा चोट लागेको छ। प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार प्रारम्भिक परीक्षणमा चालक सुरेश चौधरी मापसे गरेको अवस्थामा रहेको पाइएको छ। अस्पतालमै उनको मापसे जाँच भइरहेको छ,ू उनले जानकारी दिए।
दुर्घटनाको कारण स्पष्ट हुन बाँकी रहे पनि मापसे र तीव्र गति मुख्य कारण हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
