संघीय निजामती विधेयकको संशोधनप्रति माओवादी केन्द्र गम्भीर : प्रमुख सचेतक पाण्डे

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था हटाउने संशोधन प्रस्तावप्रति आफूहरू गम्भीर बनेको बताएका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसदहरूले विधेयकमा प्रस्ताव गरेका संशोधन, विशेषगरी प्रमुख सचेतककै तर्फबाट आएको प्रस्ताव, गम्भीर विषय बनेको स्पष्ट पारे। “राष्ट्रिय सभाका सांसदहरूको आफ्नो अधिकार हुन्छ, तर दलको प्रमुख सचेतकले संशोधन प्रस्ताव दर्ता गर्नु दलकै हैसियतमा आएको मानिन्छ,” पाण्डेले भने, “त्यसैले यसबारे स्पष्ट पारिनु आवश्यक छ।”

उनका अनुसार प्रमुख सचेतक दलको आधिकारिक प्रतिनिधि भएकाले उनले अघि सारेको संशोधन पार्टीको धारणा हो वा व्यक्तिगत, स्पष्ट नहुँदा अन्य दलहरू गम्भीर बन्न पुगेका छन्।

त्यसैगरी, उनले भूमिसम्बन्धी विधेयक फास्ट ट्र्याकमार्फत पारित गर्ने विषयमा माओवादी केन्द्र सहमत नहुने स्पष्ट पारे। “भूमिसम्बन्धी विधेयकलाई हामीले फास्ट ट्र्याकमा पास गर्न दिने छैनौं,” उनले जोड दिए।

विधेयकका संवेदनशील पक्षहरूमा स्पष्टता आवश्यक रहेको र दलहरूबीच आपसी संवाद जरुरी भएको पाण्डेले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ