काठमाडौं — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई पेन्डिङमा राखिएको जनाएको छ। दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सक्रिय राजनीति प्रवेशबारे पार्टीभित्र थप गहन छलफल आवश्यक रहेको बताएका छन्।
गौतमका अनुसार बैठकमा ६८ जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेका थिए। बहुसंख्यक सदस्यले भण्डारीले विगतमा राष्ट्रको सर्वोच्च पद सम्हालेको र संविधानको संरक्षकको रूपमा काम गरिसकेको व्यक्तित्व भएकाले उनी राजनीतिमा सक्रिय हुनुअघि पार्टीले नैतिक र राजनीतिक दुवै दृष्टिले व्यापक छलफल गर्नुपर्ने बताएका थिए।
गौतमले भने, “राजकीय उच्च तहमा पुगेको, सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने विषय सामान्य होइन। पार्टी गम्भीर ढंगले छलफलमा जुटिरहेको छ।”
उनका अनुसार नेकपा एमालेको विधानको धारा ८ र ९ अनुसार भण्डारीको सदस्यता नवीकरण रोकिएको हो। विधानको धारा ८ को उपधारा ६ मा पार्टी सदस्यता समाप्ति र पुनः प्राप्ति सम्बन्धी प्रावधान उल्लेख गरिएको छ, जसमा कार्यकारी निर्णय वा पार्टीको स्वविवेक प्रयोग गर्न सकिने व्यवस्था छ। त्यस्तै, धारा ९ को उपधारा ३ मा पार्टीले विशेष काममा खटाएको सदस्य कमिटी वा निकायमा नरहे पनि सदस्यता कायम रहन सक्ने उल्लेख गरिएको छ ।
गौतमले भण्डारीको विषयमा पार्टीले संविधान र गणतन्त्रको मर्मसँग जोडिएर गम्भीर ढंगमा बहस गरिरहेको उल्लेख गर्दै सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
सञ्चारकर्मीको जिज्ञासामा गौतमले प्रस्ट पारे, “पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेश कुनै व्यक्ति विशेषको कुरा होइन, यो गणतन्त्रको गौरव र सन्देशसँग जोडिएको विषय हो। त्यसैले पार्टी यसबारे गम्भीर छ।”
एमालेभित्र हाल भण्डारीको भूमिका र भविष्यबारे छलफल जारी रहँदा पार्टी नेतृत्वले तत्काल सदस्यता नवीकरण नगर्ने रणनीति अख्तियार गरेको देखिन्छ।
