विद्यादेवी भण्डारीलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको सचिव योगेश भट्टराईको भनाइ

काठमाडौँ, असार ३२ – नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय राजनीतिमा फर्किएपछि उनलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको स्पष्ट पारेका छन्।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव भट्टराईले भण्डारीले एमालेको सदस्यता नवीकरण गरी सार्वजनिक रूपमा राजनीतिमा सक्रिय हुने घोषणा गरिसकेको अवस्थामा अब पार्टीले आधिकारिक ढंगबाट निर्णय लिनुपर्ने बताएका हुन्।

उनले भने, “उहाँले सार्वजनिक ढंगले नै घोषणा गरिसकेपछि अब यो उहाँको व्यक्तिगत विषय मात्रै भएन। यो पार्टीको सार्वजनिक विषय भयो। नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा फर्किने घोषणा गरेर आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि यो पार्टीको गम्भीर विषय हो। हामी छलफल गर्छौं र उहाँलाई सम्मानजनक ढंगले स्थान दिनुपर्छ।”

पूर्वराष्ट्रपति भण्डारी एमालेको उपाध्यक्ष समेत भइसकेको अनुभव, योगदान र जिम्मेवारीलाई पार्टीले बेवास्ता गर्न नसक्ने भन्दै सचिव भट्टराईले प्रणालीको पालना गर्दैै उनलाई पार्टीमा उचित भूमिका दिने प्रक्रिया अघि बढ्ने स्पष्ट गरे।

“उहाँ जत्तिको व्यक्ति पार्टीको प्रणालीबाटै जानुहुन्छ। हामी सम्मानजनक ढंगले सेटल गर्छौं,” भट्टराईले भने, “नेकपा एमालेसँग त्यो क्षमता छ। अध्यक्षले पनि पार्टीमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ।”

सचिव भट्टराईले भण्डारीको राजनीतिक उद्देश्य, भूमिकाबारे स्पष्ट संवाद आवश्यक रहेको जनाउँदै पार्टी हाइलेभल तहमा छलफल हुनुपर्नेमा जोड दिए। “उहाँको उद्देश्य के हो, गन्तव्य के हो भन्ने कुरा उहाँले भन्नुभएको छैन। उहाँले पार्टीमा भन्नुहुनेछ। सार्वजनिक विषयलाई लुकाएर, कार्पेटमुनि राखेर हल हुँदैन, त्यो छलफलबाटै समाधान हुनुपर्छ,” उनले भने।

पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि सार्वजनिक कार्यक्रममार्फत एमालेको साधारण सदस्यता नवीकरण गरेकी थिइन् र सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्। एमाले नेतृत्व भने यस विषयमा औपचारिक निर्णय लिन सचिवालयस्तरमै छलफलमा जुटेको छ।

यसैबीच, राजनीतिक वृत्तमा भण्डारीको पार्टी भित्रको भूमिकालाई लिएर बहस सुरु भएको छ। धेरैको नजर अब पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय र भावी भूमिकातर्फ केन्द्रित रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ