जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा रूपान्तरण गर्न चाहन्छन् ः अध्यक्ष दाहाल

काठमाडौँ, ३० असार — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताका सपना पूरा गर्ने सुन्दर र उन्नत प्रणालीमा रूपान्तरण गर्न संविधान संशोधन आवश्यक रहेको धारणा व्यक्त गरेका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान संशोधनको विषयमा सदनमा स्पष्ट धारणा राख्ने बेला आएको बताए । उनले भने, ‘हामी दशकसम्म संविधानको कार्यान्वयन गरौं, त्यसपछि गम्भीर समीक्षा गरेर संशोधन गरौं भन्नेमा अडिग थियौं। तर संविधान अझै पूर्ण रूपमा कार्यान्वयन भएको छैन। आवश्यक कानुनहरू अझै बन्न सकेका छैनन्।’

उनले जनताबीच शासनप्रणालीप्रति अपेक्षित विश्वास नबढ्नु, शासकीय संरचना, कार्यशैली तथा प्रणालीप्रतिको असन्तुष्टि गम्भीर समीक्षा गर्नुको आवश्यकता औंल्याए ।
संविधान संशोधनमार्फत उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान तथा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने, “संविधान जारी हुँदा देखिएका असन्तुष्टि सम्बोधन गर्ने, शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, सीमाङ्कन, पहिचान र अधिकारका विषय सम्बोधन गर्ने, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्याय सुनिश्चित गर्न खालको संविधान संशोधनका लागि दुईतिहाइ बहुमत जुटाउन म प्रतिवद्ध छु।”
उनले अहिलेको संविधान तुलनात्मक रूपमा उत्कृष्ट भए पनि आफ्नो दलले केही फरक धारणा राखेको स्मरण गराउँदै केवल सतही सुधार र कर्मकाण्डी अभ्यासबाट समाजको रुपान्तरण सम्भव नहुने स्पष्ट पारे ।
“म प्रतिपक्षी दलको नेताका रूपमा फेरि जोड दिन चाहन्छु— लाखौं जनता अहिलेको गणतन्त्रलाई अझै सुन्दर, उन्नत र जनमुखी बनाउन चाहन्छन्। उनीहरू यही गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा रूपान्तरण गर्न चाहन्छन्,” अध्यक्ष दाहालले भने ।
शान्ति प्रक्रियाका सबै पक्षहरू सहयात्री भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूबीच मतभेद भए पनि मूल मूल्य र सहमति बिर्सन नहुनेमा जोड दिनुभयो। “गणतन्त्रका हामी सबै सहयात्री हौँ। यदि हामीले आत्मसमीक्षा गर्दै आफूलाई सुधार्ने कठोर सङ्कल्प गर्न सकेनौं भने जनताको धैर्यको सीमा सकिन सक्छ। त्यसले विस्फोट निम्त्याउन सक्छ,” भन्दै अध्यक्ष दाहालले सबैलाई सतर्क रहन आग्रह गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ