कमला नदीमा दुई लाख माछाका भुरा छोडियो

सिराहा ।
जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा स्थानीयको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले करिब दुई लाख माछाका भुरा छोडिएको छ ।
कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलका अनुसार रहु र नैनी प्रजातिका माछाका भुरा वडा कार्यालयको सहजीकरण र लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो । भुरा छाड्ने कार्यक्रममा जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।
‘सिराहा, धनुषा र उदयपुरको सङ्गमस्थल उत्तरबाहिनी क्षेत्र पवित्र धार्मिक महत्त्व बोकेको स्थान हो । यहाँका स्थानीय परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । भुरा हुर्किएपछि स्थानीयकको आम्दानीमा वृद्धि हुनेछ’, वडाध्यक्ष पोखरेलले भने ।
उनका अनुसार नदीमा रैथाने प्रजातिका माछा पहिलेदेखि पाइँदै आए पनि अहिले छोडिएका उन्नत प्रजातिका भुरा प्राकृतिक रूपमा हुर्किन सक्ने भएकाले यो दीर्घकालीन रूपमा लाभदायक हुने विश्वास गरिएको छ ।
मत्स्य विकास केन्द्र लहानका प्रमुख प्रियङ्का यादवले सार्वजनिक जलासयहरूमा जैविक विविधता संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले भुरा छाडिएको बताए । उनले भने, ‘सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसाका दरले रु एक लाख ५० हजार बराबरको भुरा चालु आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत कमला नदीमा छाडिएको हो ।’
उनले आगामी आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । भुरा छाड्ने अभियानले जैविक संरक्षणका साथै माछामार समुदायको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ