खडेरीको चपेटामा मधेश, धान रोपाइँ ३३ प्रतिशतमा सीमित

जनकपुरधाम, असार २५ – पहाडी क्षेत्रमा वर्षासँगै आएको बाढीले देशको उत्तरी भाग अस्तव्यस्त बनाइरहेका बेला मधेश भने खडेरीको मारमा परेको छ। लामो समयदेखि वर्षा नहुँदा मधेशका किसानहरू धान रोप्न नपाउँदा चिन्तित छन्। अत्यधिक गर्मी र पानीको अभावका कारण कृषि, जनजीवन र व्यापार सबै प्रभावित भएका छन्।

मधेशको कृषि प्रणाली मुख्यतः आकाशे पानीमा निर्भर भएकाले वर्षा नहुँदा अधिकांश खेत खेर गएका छन्। भूमिगत पानीको सतह घटेकाले चापाकलहरू सुकेका छन्, जसको प्रत्यक्ष असर खानेपानीको आपूर्तिमा परेको छ।

जनजीवन प्रभावित

गर्मीको असर केवल खेतमै सीमित छैन। दिनको समयमा हाटबजार सुनसान हुन थालेका छन् भने व्यापारीहरूले व्यापारमा पनि गिरावट आएको बताएका छन्। चुरे क्षेत्रको दोहन, वन विनाश र अनियन्त्रित रूपमा भूमिगत जलस्रोतको उपयोगले समस्या झन् गम्भीर बन्दै गएको विज्ञहरूले बताउँदै आएका छन्।

बारा, पर्सा, महोत्तरी, रौतहट, सिरहा, धनुषा र सप्तरीजस्ता जिल्लामा पानीको हाहाकार बढ्दो छ। ग्रामीण क्षेत्रमा चापाकल नै प्रमुख स्रोत भए पनि ती पनि सुकेका छन्। जनकपुरधाम उपमहानगरका ४० हजारभन्दा बढी घरधुरीमध्ये आधाभन्दा बढी चापाकलमा निर्भर छन्। खानेपानी संस्थानले जडान गरेका ४ हजार ६८५ धारामध्ये करिब ५६ प्रतिशत मात्र सञ्चालनमा छन्।

वीरगञ्जमा त खानेपानी संकटले गम्भीर रूप लिँदा स्थानीय तहले केही वडामा ट्यांकरमार्फत पानी वितरण सुरु गरिसकेको छ।

रोपाइँमा गिरावट, उत्पादनमा असरको खतरा

मधेश प्रदेशमा धानखेतीका लागि ५ लाख ४२ हजार ५८० हेक्टर जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। तर असारको अन्त्यसम्म ७०–८० प्रतिशत रोपाइँ भइसक्नुपर्ने अवस्थामा हालसम्म जम्मा १ लाख २५ हजार ८८८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयको तथ्यांकले देखाउँछ।

सबैभन्दा बढी पर्सामा ७३.३४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तर सप्तरीमा जम्मा १६ प्रतिशत मात्र रोपाइँ भएको छ। अन्य जिल्लाहरूमा रोपाइँको अवस्था यस्तो छ:

  • रौतहट: ४५%

  • बारा: ४०%

  • सर्लाही: ४०%

  • सिरहा: २९%

  • धनुषा: २५%

  • महोत्तरी: १८%

कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डलका अनुसार “हालसम्म ७५–८० प्रतिशत रोपाइँ सकिनु पर्ने हो। तर वर्षा नभएकोले यो लक्ष्य निकै तल झरेको छ। यसले उत्पादनमा ठूलो गिरावट ल्याउने सम्भावना छ।”

जनकपुरधाम–२१ का किसान ललन पण्डित भन्छन्, “सिंचाइको कुनै सुविधा छैन। आकाशे पानी नपरे खेती गर्ने अवस्था हुँदैन। यो पटकको खेती सबै बिग्रिने डर छ।”

दीर्घकालीन समाधानको खाँचो

सालैपिच्छे आउने खडेरी, घट्दो पानीको सतह र अव्यवस्थित विकासको असर झेलिरहेको मधेशका लागि दीर्घकालीन सिंचाइ योजना, चुरे संरक्षण, वन व्यवस्थापन र भूजल व्यवस्थापन अपरिहार्य देखिन्छ। खडेरीको चपेटामा परेका किसानहरू तत्काल राहत मात्र होइन, संरचनागत सुधारको अपेक्षामा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ