Blog

  • पोलियोविरुद्ध सामाजिक जागरणका लागि मिनी म्याराथन

    पोलियोविरुद्ध सामाजिक जागरणका लागि मिनी म्याराथन

    बर्दिबास (महोत्तरी), ६ कात्तिक ।

    रोटरी क्लव अफ बर्दिबास र रोट्य्राक्ट बर्दिबासले यसपालिको विश्व पोलियो दिवसका अवसरमा मिनीम्याराथन प्रतियोगिता आयोजना गर्ने भएका छन् । आउने बिहीबार पर्ने २४ अक्टुवरमा मनाइने विश्व पोलियो दिवसका अवसरमा दुबै सामाजिक संस्थाले संयुक्त रुपमा मिनीम्याराथन प्रतियोगिता आयोजन गरिने आज बर्दिबासस्थित गौतम होटलमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    दिवसका अवसरमा पोलियोविरुद्ध सचेतनाका नारा उल्लेखित एकै प्रकृतिका भेस्ट र टोपी लगाएका १०० जना प्रतियोगितामा सहभागी हुने मिनीम्याराथन प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सुमित्रा भट्टराईले जानकारी दिनुभयो । यस प्रतियोगितामा नौ किलोमीटर दुरीको मिनी म्याराथन गराइने कार्यक्रम तय भएको छ । सहभागीलाई भेस्ट र टोपी आयोजकले उपलब्ध गराउनसँगै प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशः १० हजार एक, सात हजार एक र पाँच हजार एक नगद पुरस्कार दिइने संयोजक भट्टराईले स्पष्ट पार्नुभयो ।

    प्राणघातक र कष्टदायक पोलियो रोगविरुद्ध सामाजिक जागरण अभिवृद्धिका उद्देश्यले मिनीम्याराथन प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकको भनाइ छ । आउने बिहीबार बिहान बर्दिबासस्थित शिवपुराण महायज्ञस्थलमा मिनी म्याराथन प्रतियोगिताको भव्य उद्घाटन सम्पन्न गरिने जनाइएको छ ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक सहभागीले रोटरी क्लव अफ बर्दिबास र रोट्य्राक बर्दिबासको बर्दिबासस्थित कार्यालय वा सम्बद्ध पदाधिकारीसँग भोलि बुधबार साँझसम्म सम्पर्क गर्नसक्ने व्यवस्था छ । प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी भइ पोलियोविरुद्ध ऐक्यबद्धता जनाउन आयोजकले सम्पूणर् बर्दिबास नगरबासीसँग अपिल गरेका छन् ।

    यसैबीच बर्दिबासस्थित होटल गौतम, होटल विनायक र होटल गुञ्जले प्रतियोगिताका उत्कृष्ट (प्रथम, द्वितीय र तृतीय हुने) प्रतियोगीलाई सो दिन साँझ थप एक साथीसहित रात्रीभोज दिने घोषणा गरेका छन् ।

    रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लवका पूर्वअध्यक्षहरु शम्भु भट्टराई, हिरालाल गौतम , विष्णु खड्का, कृष्णप्रसाद गौतमको उपस्थित थियो । यसैगरी कार्यक्रममा रोट्य्राक बर्दिबासका अध्यक्ष सुदर्शन काफ्लेसहित पूर्वअध्यक्षहरुको सहभागिता थियो ।

  • विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

    विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

    काठमाडौँ, ६ कात्तिकः सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

    बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

    बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिनुभएको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले भन्नुभयो, “हामी समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्यौँ ।”

    सभामुख घिमिरेले आज बिहान ११ः३० बजे दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाउनुभएको हो ।

    बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

  • स्कुल बसको ठक्करले एक बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    स्कुल बसको ठक्करले एक बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    जनकपुरधाम : धनुषामा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिंगमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् ।

    धनौजी गाउँपालिका २ मा रामजानकी बोर्डिंग स्कुल जाँदै गरेकी बालिकालाई बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिंग स्कुलको बसले किचेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए ।

    उनका अनुसार आज बिहान १० बजेतिर विद्यालय जाने बेला किचिएर गम्भीर घाइते भएकी आरोहीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताए ।

    आक्रोशित स्थानीयले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए । चालक घटनापछि फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • विवाहको ७ वर्षपछि आमा बन्दै अशिष्मा

    विवाहको ७ वर्षपछि आमा बन्दै अशिष्मा

    काठमाडौं : ‘फिगर कोकाकोला’ गर्ल अशिष्मा नकर्मी आमा बन्ने भएकी छन् । विवाह बन्धनमा बाँधिएको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । २०७४ सालमा उनले नविनचन्द्र प्रधानसँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी उनले सोमबार इन्स्टाग्राममा बेबी बम्पसहितको तस्वीरहरु सेअर गर्दै आमा बन्न लागेको खुसी साटेकी हुन् ।

    उनले लेखेकी छन्, ‘हामीले सबैभन्दा मीठो रहस्यलाई लुकाउँदै आयौं । र, अब संसारसँग हाम्रो खुसी साझा गर्ने समय आएको छ । लामो प्रतीक्षापछि हाम्रो प्रार्थनाको जवाफ मिलेको छ । मार्च २०२५ मा हाम्रो खुसीको सौगात आउँदैछ ।’ उनको उक्त पोस्टमा अभिनेत्रीहरु सृष्टि श्रेष्ठ, रेश्मा घिमिरे, गरिमा पन्त, अभिनेता कर्मा शाक्य लगायतले बधाई दिएका छन् ।

    अमेरिकामै सन्तानलाई जन्म दिन लागेकी अशिष्माले विवाहपछि फिल्म ‘मेला’ र नेवारी भाषाको फिल्म ‘लाखे आजु’मा काम गरेकी थिइन् । फिल्म ‘अर्धकट्टी’को ‘फिगर कोकाकोला’ गीतले उनलाई दर्शकमाझ चिनाएको थियो । उनको डेब्यु फिल्म भने ‘अन्तराल’ हो । ‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनीको फुल २’, ‘संरक्षण’ लगायतका करिब एक दर्जन फिल्ममा काम गरिसकेकी अशिष्माले थुप्रै नेपाली तथा नेवारी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

     

    View this post on Instagram

     

    A post shared by Ashishma Nakarmi (@ashishmanakarmi)

  • मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त

    मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त

    महोत्तरी, ६ कात्तिकः मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ । उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिलाक्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।

    कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवैसमुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् । “कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र ? अनि त्यसलगत्तै छठ ! यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिन भन्नुहुन्छ, “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।” बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा÷ चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ । बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउनुहुन्छ ।

    सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्वमागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् । कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौं महिनाअघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साचिएको समय हो । घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् । यसबेला बिक्ने आफ्नो सीपले ससाना नानीहरुको रहर पूरा गर्ने, नयाँ लुगा लइाइदिने, मिठोमसिनो खाने र वर्षभरिको नुनतेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुनेगरेका बर्दिबास–१ कै भोगेन्द्र मरिक बताउनुहुन्छ ।

    बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् । दीपावली र छठमा मात्र आपूmहरुको सीप बिक्ने गरेको यी दुवैजाति समुदायको समान पीडा छ । पुख्र्यौली पेसा र सीप पर्वबाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् । हाल ५० वर्ष सेरोफेरोका बिन र डोमको शेषपछि यहाँ बाँसका चोया काढेर टोकरी,मान्द्रा, डोका बनाउने भेटिन कठिन हुने चिन्ताले रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले पिरोलिनुभएको छ ।

    बिन र डोम समुदायका पाँच दशकमाथिका उमेर समूहका मानिस चोया खेलाए आय आर्जनको आश गर्दैछन् । “बाबुबाजेले यही काम गरे, हामीले यही सिक्यौँयही दीपावली र छठको आश छ हामीलाई हो” रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले भन्नुभयो ।

    “हाम्रो वर्षभरिको नगद खर्चको ब्यौंत (जोहो) गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाँइदैन” लोहारपट्टीको डठोरा बस्तीका रत्नेशर मरिक भन्नुहुन्छ, “ससाना नानीहरुको चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आशा गरेका हुन्छौं ।” अन्य बेला आफ्नो सीपको खासै माग नहुने हुँदा वर्षभरिको खर्चको जोहो पनि यसैबेला गर्नु पर्ने रत्नेशर बताउनुहुन्छ ।

    बाबुआमा काममा ब्यस्त भएसँगै समान बनाइ दिन भन्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “बाबु, दिबाली (दीपावली) मे हमरा फुटबल लादिहा” (बुबा, दीपावलीमा मलाई फुटबल ल्याइदिनु होला) पर्वका लागि माग भएका चोयाका समान बुनी रहेकी बर्दिवास–१ का भोगेन्द्र मरिकको छेउमै खेल्दै आइपुगेको आठ वर्षीय छोरा शिवु मरिकको माग छ ।

    जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरुको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ । गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुँर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

    तिहार र छठ भने आपूmहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरु बताउँछन् ।

    महोत्तरीका सबै नगर, गाउँ–बस्तीमा सीमित सङ्ख्यामा यी जाति समुदायको बसोबास छ । यी दुवैको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र शैक्षिक अवसरमा निकै कम पहुँच छ । अवसर नपाएका सीमान्तकृत समुदाय, दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिएपनि यस्ता कार्यक्रमभने यी समुदायबीच खासै नपुगेकोे सामाजिक अभियानीहरुको टिप्पणी सुनिन्छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसर नपाएका यी समुदायको उत्थानको काम हुन नसकेको सामाजिक संस्था ‘प्रयास’ अध्यक्ष प्रवीण कर्ण बताउनुहुन्छ ।

  • ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

    ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

    काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

    मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए ।

    कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

    उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ । साभार: रातोपाटी

  • चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

    चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

    इनरुवा (सुनसरी), ६ कात्तिकः सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उहाँले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउनुहुन्छ ।

    उहाँले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आउनुभएको छ । उहाँले चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “फलामको सामग्री निर्माण गरेर मासिक रु ४० देखि ५० हजारसम्म आम्दनी हुन्छ । रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ ”

    उहाँजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ । त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दनीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आउनुभएको स्थानीय सन्तोष शर्माको भनाइ छ ।

    लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ ।

    पुख्र्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । आधुनिकताको विकास भए पनि सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन् ।

  • जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ

    जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ

    न्युयोर्क – संसद्को अवहेलनाको कारण चार महिना जेलमा बिताएपछि ट्रम्पका पूर्व रणनीतिकार स्टिभ बानोन जेल मुक्त हुने भएका छन्। डेनबुरीमा रहेको जेलमा रहेका उनलाई सङ्घीय जेलको सुविधा प्रदान गरिएको थियो।

    सन् २०१६ मा ट्रम्पलाई जिताउन उनको ठुलो भूमिका थियो। उनी २९ अक्टोबरको दिन रिहा हुँदै छन्। उनको रिहाइले ट्रम्पको चुनावी अभियानलाई थप सहज बनाउने अभियान उनका समर्थकले गरेका छन्।

    ट्रम्पकै चुनावी अभियानमा सक्रिय एलन मस्कले बन्दुक सम्बन्धी याचिकाका लागि प्रतिबद्धतासहित हस्ताक्षर गर्ने व्यक्ति मध्ये १ जनालाई १ मिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन्। यसका मत स्विङ हुने राज्यका दर्ता भएका मतदाता मात्र सहभागी हुन पाउने छन्। विगतमा डेमोक्र्याटले यो विषयमा आवाज उठाउँदा मस्कले विरोध गरेका थिए।

    निर्वाचनको पूर्व सन्ध्यामा रिपब्लिक पार्टीकी विधायिका लिज चेनीले कमला ह्यारिसलाई मतदान गर्न चाहने रिपब्लिक समर्थकले निर्डर हुन् भनेकी छिन्। अहिले १० प्रतिशत भन्दा कम रिपब्लिक मतदाताले ह्यारिसलाई मतदान गर्दै छन्। लिज चेनीको साथले यो सङ्ख्या बढेमा उनको जित सहज हुनसक्ने छ।

    उत्तर क्यारोलीनामा पुगेका पूर्व राष्ट्रपति तथा ५ नोभेम्बरमा हुने राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले कमला ह्यारिसको जित प्रजातन्त्रका लागि खतरापूर्ण रहेको बताएका छन्। उनले जुलाई महिनामा जो बाइडेन भागे पछि नै आफ्नो जित भइसकेको दाबी समेत गरे। उनले आँधीबाट प्रभावित क्षेत्रमा सहयोग बाइडेन प्रशासन चुकेका कारण आफू ह्वाइट हाउस प्रवेश गरेर सहयोग गर्ने बताए।

  • आजदेखि ट्रायल पास गर्ने वित्तिकै मोबाइलमा लाइसेन्स

    आजदेखि ट्रायल पास गर्ने वित्तिकै मोबाइलमा लाइसेन्स

    काठमाडौं : आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ। नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो। आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका थिए। लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए। ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हामीले आशा राखेका छौँ ।’

    प्रधानमन्त्री ओलीले सवारी नियम उल्लङ्घनमा जरिबाना तिर्दा हुने झन्झट पनि हटेको बताएका छन्। उनले लेखेका छन्, ‘नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ।’ बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो ।

    परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले बताए। मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ। सचिव निरौलाले भने, ‘बागमतीमा आइतबारबाट औपचारिक रूपमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गरिँदै छ। जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको छ।’ यसै आर्थिक वर्षमा पाँच सय वटा मोबाइल प्रहरीलाई उपलब्ध गराइने उनको भनाइ छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा लाइसेन्स छ भने प्रिन्टकपी नखोजिने जनाएको छ। प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले भने ‘एपमा छ भने हार्डकपी खोजिँदैन, सकेसम्म प्रविधिमैत्री भएर जान्छौँ तर सवारीचालक प्रविधिमैत्री नभएको खण्डमा चिट नै काट्नुपर्ने हुन्छ।’

  • मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

    मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

    काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो।

    रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला लोककला।

    उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला लोककला पस्किएर चर्चाको केन्द्रमा छन्।

    मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको बेला उनी भने त्यसलाई विश्वमा चिनाउँदैछन्।

    ‘अमेरिकाको २६ वटा राज्यमा मिथिला लोक कला पस्किँदा मैले डेट पर्खिनु पर्दैन,’ उनी भन्छन्, ‘४०-५० वटा कृति भयो भने कुनै पनि राज्यमा गएर ग्यालरीमा हप्ता, दस र दुई हप्ताको समयमा प्रदर्शनी गर्न सक्छु।’

    कुनै समय मिथिला लोककलामा चित्रकला भन्ने थिएन। हस्तकला थियो, शिल्पकलालगायत थिए।

    त्यो कलाकृति उनका बुवा जितबहादुर रायमाझीले गर्थे। उनको कलाकृतिलाई कसरी पूर्ण गर्ने? भनी सोचमग्न भएर मिथिला ललितकलामा लागेका रायमाझीले आफ्ना बुवाको उचाइलाई छोराले पूरा गर्नुपर्छ भन्ने लक्ष्य बनाए।

    मिथिला लोक कलाका केही पाटा छन्। मिथिला लोककला पुस्तान्तरण हुँदै आएको छ, यसको कुनै लिखित दस्तावेज छैन। अन्दाजको भरमा कला भर्नुपर्ने हुन्छ।

    कतिपय प्रा.डा. राजेन्द्र विमलले लेखेका किताबमा छन्। बिहार पटनाबाट लेखिएका किताबहरू भेटिन्छन्। अध्ययन गर्दा मिथिला लोक कला संस्कारी कुरा आउँछ। ती विधि-विधानमा प्रयोग हुन्छन्।

    रायमाझी भने विषयवस्तुहरूलाई कथा बनाउँछन्। लोक कथामै आधारित भएर आफ्नो दैनिकी बिताउँछन्।

    मिथिला लोककलामा अर्को जटिल पाटो भनेको पौराणिक मिथहरू छन्, प्रमाणित लिखत छैनन्। रामका कथाहरू, कृष्णका देवी देवताका कुरा मिथक कथा हुन्।

    यस्ता मिथकमा गहिरो अध्ययन भएन भने चित्र कोर्न सकिँदैन। त्यसमा प्रतिकात्मक चिन्हहरूको प्रयोग गर्नुपर्छ। सही ठाउँमा लगाउन सकिएन भने त्यसले अनर्थ दिन्छ।

    अमेरिकी र पश्चिमाहरू गहिरो अध्ययन गर्छन्। त्यस्तो जमातमा कला पस्किँदा इज्जत जोगाउने चुनौती रहने रायमाझी बताउँछन्।

    ‘नयाँ पिढी आउन नचाहेको होला, हाम्रा नयाँ आउने पिढीहरू यसबारे जानकार छैनन्। लेभलसम्म पुग्ने गाइडलाइन छैन। त्यसैले मिथिला ललितकला भड्किएको छ,’ रायमाझी भन्छन्।

    उनले चित्रकला सिकेको आफ्ना पिता जितबहादुरबाट हो। प्रतीकको घर सिरहा कर्जन्हा नगरपालिकास्थित भुल्के हो।

    मध्यम वर्गीय परिवारका जितबहादुर  नेपालकै पहिलो व्यक्ति थिए ललितकलामा।

    बिएचयु बनारस हिन्दु विश्वविद्यालय, काशीबाट २०२८ सालअगाडि जितबहादुर नेपाल फर्किए।जितबहादुर ललितकलामा मास्टर्स गर्ने त्यो पनि डब्बल मास्टर्स बिएचयू ( बनारस हिन्दु विश्वविध्यालय) पहिलो एकल व्यक्ति थिए। नेपालको कुरा गर्ने हो भने त उनी झनै एक्लो र पहिलो व्यक्ति थिए।

    जितबहादुरले आफ्ना गुरुहरूबाट पाएको उपनाम आधुनिक भ्यानगग थियो, जो विश्वविख्यात चित्रकार थिए।

    जितबहादुरले चित्रकला पढे पनि प्रतीकलाई पढ्न दिएनन्। जितबहादुर आफ्नो समयमा प्रखर वक्ता, कलाको क्षेत्रमा अब्बल थिए। उनलाई प्रोफेसरहरूले भारतमै राख्छौं भन्दैथिए। तर, जितबहादुर राजा महेन्द्रको राष्ट्रप्रेम देखेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएका थिए।

    प्रतीक लोक कलातिर लागें, उनमा लोक कलाको रस बस्यो। विभिन्न ठाउँहरू चहारे पनि सबैभन्दा ठूलो विश्वविद्यालय उनी आफ्ना बुवालाई ठान्छन्।

    ‘तर, मैले पिताजीको संगत धेरै पाइनँ। नपाएपछि मैले आफ्ना गुरुहरूबाट ज्ञान पाएँ। पिताजीबाटै पाउन सक्थें होला। बनारसको छोटो बसाइमा धेरै अध्ययन गर्न पाएँ। बुवाले ज्ञान सेयर गर्नुभएन,’ उनले भने, ‘बुवाले मलाई चित्रकलामा नआओस् भन्ने चाहना राख्नुहुन्थ्यो।’

    त्यसैले पनि होला, प्रतिक १३ वर्षको उमेरमा घर छोडेर हिँडे। ‘आज जे छु, जस्तो छु म सय गुणा बढी छु, मैले आफूले आफैंलाई बनाएको हो। कडा मेहनत गरें, म पछि मेरो परिवार, आउने सन्ततिका लागि गर्नुपर्छ भन्दै आफ्नो क्षेत्रमा कडा मेहनत गरें। दिनरात, भोक-प्यास, झरी-घाम भनिनँ,’ उनले भने।

    बुवाको पदचाप पछ्याउँदै र बडी ल्यांग्वेजबाट रायमाझीले धेरै सिकेका थिए। ‘ज्ञानगुनका कुरा सिक्न पाएको भए, आशीर्वाद पाएको भए अझै परिस्कृत हुन सक्थें,’ उनले भने।

    अमेरिका गइकन र अगाडिसमेत उनको मुख्य पेशा चित्रकला नै थियो। अमेरिकामा यसको बजार अहिले अथाह छ, जति नेपालमा नै छैन।

    उनी नेपालमै मिथिला लोक कलालाई थप प्रामाणिक, बौद्धिक तथा आधुनिक रूपले पस्किन सक्थे होला। तर, उनलाई नेपालमा माओवादी तथा कम्युनिष्ट पार्टीका ‘भिजिलान्ते’हरू बस्न दिएनन्। तिनीहरूकै कारण नेपालमा बस्न आफूलाई थाह्रो भएको उनले सुनाए।

    ‘मलाई कम्युनिष्टहरू कहिल्यै मन परेन र अहिले त झनै मन पराउँदिनँ,’ प्रतीकले भने।

    उनले सन् २००७ मा नेपालमा मिथिला लोक कलाको कार्यशाला गर्न लागेका थिए। उनी मात्रै नेपालमा लोक कलाको कार्यशाला गर्थे।

    आफ्नै खर्चमा नेपालका लागि तत्कालीन भारतीय राजदूतावासको प्रथम सचिव गोपाल बागले, छिरिङ शेर्पाले त्यसअघि त्यस्तो कार्यशाला एक-एक पटक गरेका थिए। बागले हाल श्रीलंका लागि भारतीय राजदूत छन्।

    उनको बागलेसँग संगत थियो। उनी भारतीय दूतावासमा सजिलै छिर्न सक्थें। त्यही कारणले होला प्रदर्शनीहरू गर्दा भारतीय दूतावासले रकम सहयोग पनि गर्थ्यो। नदिए पनि उनी आफ्नै खर्चमा प्रदर्शनी गर्थे। यसै क्रममा उनले बाहिरी संघ-संस्थाको काम पनि पाए।

    कला कार्यशालाको प्रदर्शनीका लागि उनले लागि नेपाल आर्ट काउन्सिलमा प्रयास गरिरहेका थिए। त्यहाँ हल बुकिङ पनि गरिसकेका थिए।

    उनी सिरहा गोलबजार क्षेत्रमा सेभ द चिल्ड्रेनका लागि काम गर्थे। माओवादीहरू उनलाई अमेरिकी दलाल भन्थे।

    कार्यशालाको फ्लायर बनाउने तयारी गरिरहेका बेला चार-पाँच जना माओवादीहरूले उनलाई उठाएका थिए।

    माओवादीले चन्दाको कुरा गरे। उनले चन्दा दिने पैसा छैन भन्दिए। काठमाडौंको एउटा घरको दुई तलामाथि उनलाई लगियो।

    उनी माओवादी कब्जाबाट फुत्किन सके। उनले दुई तलामाथि घरबाट हामफालेर ज्यान जोगाएका थिए। त्यो घटनाले उनको सकुशल शरीरमा समस्या देखिन थाल्यो। कम्मरमा समस्या अहिले पनि छ।

    त्यसपछि अमेरिकातिरै गएका रायमाझीलाई त्यहाँ बसेर नेपाली कला संस्कृति चिनाउन सकेकोमा गर्व लागेको छ।

    ‘चित्रकृतिको पारिश्रमिक राम्रो पाउँछु। म मूल्य राख्दिनँ। म आफैं तिमीहरू कतिसम्म मूल्य दिन्छौ भनेर भन्छु। मलाई दाम देउ भन्छु, दिन्छन् मनग्गे। सोचेको भन्दा पनि तीन गुना बढी पारिश्रमिक पाउँछु,’ उनले भने।

    उनी नेपालले आफूलाई बिर्सिसकेको बताउँछन्। केही साथीभाइ छन्, सम्झिन्छन्। ‘मेरो उपस्थिति नभएको धेरै वर्ष भयो। नेपालले के भन्छ भन्नेतिर लाग्न छोडें, मलाई टिकिखान- गरिखान नदिएपछि भविष्य सुनिश्चित हिँड्नुपर्‍यो। देशको मर्म बुझ्नलाई एक पटक विदेशिनु पर्छ नै,’ उनले भने।

    देश चिनाउन र देशलाई गरिमामय नाम दिन मरिमेटेर लागिपरेको उनको अनुभव छ। ‘नेपालको विषयमा नेताले बदमासी गर्दा लेख्यौं, बोल्यौं भने अरिंगालले छोपेजसतो गर्छन्,’ उनले भने, ‘यस्ता चैतेहरूलाई म के भन्न चाहन्छु भने खेद, मरिमेटेर लाग न।’

    रायमाझीले आफ्नो कला ९० वटा देशमा पुर्‍याएका छन्। सन् २००३ बाटै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका उनी राजा वीरेन्द्रको एकदमै नजिक भएर बसेको थिए।

    दरबार हत्याकाण्ड भयो। त्यसपछि उनलाई नेपाल बस्न रुची लाग्न छोडेको थियो। पछि घरमै माओवादीहरूले घेराउ गर्ने, अपहरण गर्नेसम्म भएपछि उनले नेपाल बस्ने सपना त्यागे।

    उनी आफ्नो कलामा महिला-पुरुष जो पनि आउनका लागि आह्वान गर्छन्। त्यसरी आउने पिढीलाई चित्रकलाका वास्तविकताहरूको सोधी र अध्ययन गर्न उनी सुझाव दिन्छन्।

    ‘विधि, टेक्निक्स, कहाँबाट कहाँ पुगे। हामी नेपाली कलाकारले विश्वका कलाका महारथीहरूसँग कसरी हिँड्न सक्छौं? हैसियत हामीले बनाउन पर्छ, लोक कलामा लागौं, अध्ययन गरौं। आफ्नो रगत माटो समय सुहाउँदो कला पस्किऔं,’ उनले भने।

    उनले अमेरिकामा मिथिला कलाको संग्रहालय स्थापना गर्ने सोच बनाएका छन्। त्यो संग्रहालय सन् २०२६ बाट सुरू हुने रायमाझीले बताए।

    काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनी गर्ने र छानिएका कृतिलाई अमेरिका लगायतमा प्रदर्शनी गर्ने उनको योजना छ।

  • ‘चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्’

    ‘चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्’

    एजेन्सी । वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्।

    कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्।

    अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको “भूमिगत संसार” मा सयौँ अरू गुफा हुन सक्छन् र यो तीमध्येको एउटा हुन सक्छ।

    विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानवजातिको उपस्थिति गराइराख्न प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ।
    हिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भए जस्तो देखिएको प्रथम ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले बीबीसी न्यूजलाई बताइन्। मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०-३० वर्षसम्म बस्न सक्ने उनको भनाइ छ।

    यद्यपि यो गुफा निकै गहिरो भएकाले अन्तरिक्षयात्रीहरूले तल ओर्लिन र बाहिर निस्किन “जेट प्याक” वा “लिफ्ट” प्रयोग गर्नुपर्ने हुनसक्छ।

    इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको ‘मेअर ट्र्याङ्क्विलिटेटिस’ भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा रहेको पत्ता लगाएका हुन्।

    पहिला समुद्र रहेको ठानिएको उक्त क्षेत्र पृथ्वीबाट खाली आँखाले नै देखिन्छ। सो क्षेत्रमै सन् १९६९ मा अपोलो ११ यान अवतरण भएको थियो।
    चन्द्रमाको सतहमा अवस्थित प्वालबाट उक्त गुफामा प्रकाश छिर्छ। गुफा ठाडो छ र गुफाको भुइँ निकै तलसम्म फैलिएको हुन सक्छ।

    करोडौँ वा अर्बौँ वर्षअघि चन्द्रमामा लाभा बग्दा चट्टान भएको ठाउँमा सुरुङ बनेको र उक्त गुफाको निर्माण भएको ठानिएको छ।

    स्पेनको लान्जारोतेमा ज्वालामुखीका कारण बनेका गुफाहरूसँग त्यसको तुलना गर्न सकिने प्राध्यापक कारेर बताउँछन्। चन्द्रमाको गुफाबारे अध्ययन गर्ने सिलसिलामा अनुसन्धानकर्ताहरू स्पेनस्थित ती गुफामा पनि पुगेको उनले बताए।
    “यो निकै रोचक छ। यस्ता कुरा पत्ता लाग्दा र यी तस्बिरहरू हेर्दा आफू इतिहासमै पहिलो व्यक्ति भएको अनुभूति हुन्छ,” प्राध्यापक कारेरले भने।

    उक्त गुफा निकै ठूलो भएको भेउ पाइसकेपछि इटलीका ती दुई प्राध्यापकले उक्त स्थान चन्द्रमामा मानिसका लागि आधारशिविर बन्न उपयुक्त भएको ठानेका हुन्।

    “पृथ्वीमा गुफामै जीवन चल्थ्यो। मानिसहरू चन्द्रमामा पनि गुफामा बस्न सक्छन्,” प्राध्यापक कारेरले भने।

    उक्त गुफाको पूरै अन्वेषण भइसकेको छैन।

    तर अुनसन्धानकर्ताहरूले जमिन छेड्न सक्ने रेडार, क्यामरा रोबट प्रयोग गरेर उक्त गुफाको नक्साङ्कन गर्न सकिने ठानेका छन्।

    कसरी पत्ता लाग्यो
    झन्डै ५० वर्षअघि वैज्ञानिकहरूले चन्द्रमामा गुफा र सुरुङहरू रहेको अनुमान गरेका थिए। त्यसपछि सन् २०१० मा ‘लूनर रिकोनिसन्स ओर्बिटर’ अभियानका क्रममा एउटा क्यामराले ती खाडलका तस्बिर खिच्यो। ती खाडल गुफाका मुख भएको वैज्ञानिकहरूको बुझाइ थियो।

    तर अनुसन्धानकर्ताहरूलाई ती गुफा कति गहिरा छन् वा ती भत्किन सक्छन् कि सक्दैनन् भन्ने थाहा थिएन।

    प्रा ब्रुजोने र प्रा कारेरको अनुसन्धानले अहिले ती प्रश्नको उत्तर दिएको छ। यद्यपि उक्त गुफाबारे सबै कुरा थाहा पाउन धेरै अध्ययन हुन बाँकी छ।

    “हामीसँग चन्द्रमाको सतहका निकै राम्रा तस्बिरहरू छन्, २५ सेन्टिमिटर रेजलूशनसम्मका – हामी अपोलो ११ अवतरणस्थल पनि देख्छ सक्छौँ। तर उक्त सतहमुनि के छ भन्ने हामीलाई केही पनि थाहा छैन। नयाँ कुरा पत्ता लाग्न सक्ने ठूलो अवसर छ,” युरोपेली अन्तरिक्ष निकाय (ईएसए) सँग आबद्ध वैज्ञानिक फ्रान्सेस्को साउरोले भने।
    अरू ग्रहको अन्वेषणमा पनि सहयोग
    यो अनुसन्धानले भविष्यमा मङ्गल ग्रहमा पनि गुफाको खोजी गर्न सघाउन सक्ने साउरोको धारणा छ। उनी ईएसएस्थित ग्रहहरूमा गुफाको अध्ययन गर्ने टोलीका संयोजक हुन्।

    त्यसबाट मङ्गल ग्रहमा जीवको अस्तित्व भए त्यसको प्रमाण फेला पार्न पनि सहयोग पुग्न सक्ने ठानिएको छ। उक्त ग्रहको सतहमा भएका तत्त्वहरूबाट त्यस्ता प्रमाण जोगाउन गुफाहरूले सघाएको हुनुपर्ने वैज्ञानिकहरूको बुझाइ छ।

    अहिले चन्द्रमामा फेला परेको गुफाबाट चन्द्रमाको इतिहास र उत्पत्ति तथा सौर्यमण्डलसम्बन्धी आधारभूत प्रश्नको उत्तर खोज्न पनि सहयोग पुग्न सक्छ।

    अन्तरिक्षको प्रतिकूल मौसमको प्रभावबाट जोगिने भएकाले गुफाभित्र रहेका चट्टानमा क्षति पुगेको वा क्षय भएको हुँदैन। त्यसैले तिनले अर्बौँ वर्षअघिको भौगर्भिक सूचना दिन सक्छन्।

    यसबारे ‘नेचर अस्ट्रोनमी’ नामक वैज्ञानिक जर्नलमा भर्खरै एउटा शोध प्रकाशित भएको छ। बिबिसीबाट

  • बागमतीमा एमाले र कांग्रेसका को-को मन्त्री बन्दै ?

    बागमतीमा एमाले र कांग्रेसका को-को मन्त्री बन्दै ?

    हेटौडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुङ्ग्याएको छ ।

    एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।

    एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।

    बागमतीमा कांग्रेस(एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दै छन् ।

    त्यस्तै कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।