रौतहट असोज २५ । शिक्षक भर्नाको नाममा घुस लेनदेन गरिरहेको अवस्थामा रौतहटको एक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पर्साको वीरगञ्जस्थित एक होटलबाट साढे ४ लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका सञ्जय प्रसाद रौतहटको धरहरीस्थित जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन्। विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाइएको विज्ञापनमा एक जनाले विधिपूर्वक दरखास्त दिए पनि सञ्जयले प्रक्रिया नमान्दै बिचौलिया मार्फत घुस लिएका थिए। अख्तियारका अनुसार प्रधानाध्यापकले शिक्षक नियुक्तिमा सिफारिस गरिदिने भन्दै बिचौलिया अरविन्द प्रकाश साहको माध्यमबाट साढे ४ लाख रुपैयाँ घुस लिएका थिए। अख्तियारले साहलाई समेत पक्राउ गरेको छ।
दुवैलाई वीरगञ्ज महानगरपालिका–१३ स्थित अदालत रोडको एक होटलबाट पक्राउ गरिएको हो। अख्तियारले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
