काठमाडौँ असोज १९ । देशभर अविरल वर्षाका कारण विभिन्न प्राकृतिक र मानवसिर्जित दुर्घटनामा परेर पछिल्ला दुई दिनमा ४० जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार असोज १८ र १९ गतेका दिन बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना र खोलाले बगाउँदा मानवीय क्षति भएको हो।
मानव क्षतिमा सबैभन्दा बढी प्रभाव परेको क्षेत्र कोशी प्रदेश हो। इलाम जिल्लामात्र २८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। त्यस्तै उदयपुर, खोटाङ र पाँचथर गरी तीन जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् भने ५ जना अझै बेपत्ता छन्। मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा १ जना बेपत्ता रहेको जानकारी आएको छ। त्यसैगरी, बागमती प्रदेशको रसुवामा ४ जना र काठमाडौँमा १ जना गरी थप ५ जना बेपत्ता भएका छन्।
यसरी कुल बेपत्ता हुनेको संख्या ११ पुगेको प्रहरीको विवरणमा उल्लेख छ। देशका विभिन्न भागहरूमा भइरहेको लगातारको वर्षाले जनजीवन प्रभावित बनाएको छ भने उद्धार तथा राहत कार्यमा सुरक्षा निकायहरू परिचालन भइरहेका छन्। प्रहरी र स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्र खाली गर्न र सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।
