काठमाडौँ भदौ २५ । पछिल्लो समय बढ्दो आन्दोलन र सार्वजनिक सम्पत्तिमाथिको आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै सरकारले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने त्यसपछिका घण्टाहरूमा – भोलि बिहान ६ बजेसम्म – कर्फ्यु आदेश लागू हुनेछ।
सेनाले आन्दोलनको आडमा केही अराजक समूहहरूले हिंसा, आगजनी, लुटपाट तथा अन्य आपराधिक क्रियाकलाप गर्न सक्ने खतरा देखिएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। एम्बुलेन्स, शव वाहन, दमकल तथा स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइनेछ। अन्य नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।
नेपाली सेनाले अफवाहमा नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र पालना गर्न जनतालाई अपिल गर्दै कुनै पनि आपराधिक गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
