काठमाडौँ भदौ १६ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशका विभिन्न भागमा सक्रिय मौसमी प्रणाली देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको निरन्तर प्रवाह भइरहेकाले देशभरको मौसममा व्यापक प्रभाव परेको विभागको भनाइ छ।
यस मौसमी प्रभावका कारण अहिले देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। विशेषगरी बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षा गराउने बादलहरू सक्रिय भइरहेका छन्। यसले त्यहाँका भू–भागहरूमा बढी जोखिम उत्पन्न गर्न सक्ने देखिएको छ।
रातिको समयमा पनि मौसममा सुधारको सम्भावना देखिएको छैन। सुदूरपश्चिमका केही स्थानहरूका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराईका केही एक–दुई स्थानहरूमा पनि वर्षा देखिने अनुमान गरिएको छ। विभागले लगातार वर्षाको सम्भावना रहेको भन्दै नदी किनार, पहिरोसम्भावित क्षेत्र, तथा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
