सुनसरी साउन २१ । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भइसकेका सुनसरी बराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइराला विराटनगरको महेन्द्र चोकबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको समर्थनमा मंगलबार आयोजित हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन पुगेका बेला कोइरालालाई पक्राउ गरिएको हो।
मोरङ प्रहरी स्रोतका अनुसार कोइराला पक्राउ परेपछि सोही दिन सुनसरी प्रहरीको जिम्मा लगाइएको छ, जहाँ उनको मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत सुनसरीले असार ३२ गते कोइरालालाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
अमेरिकामा बसोबास गर्दै आएका कोइराला गत वैशाखमा नेपाल आएका बेला पक्राउ परेका थिए तर पछि धरौटीमा रिहा भएका थिए। मुद्दाको अन्तिम फैसलामा उनी दोषी ठहर भइसकेका थिए।
