काठमाडौँ असोज १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको पुष्टि गरेको छ। महाशाखाकी प्रवक्ता विभूति पोखरेलले मनसुन कमजोर भई मौसममा सुधार आएको जानकारी दिइन्। तर मनसुन पूरै बाहिरिएको नभएकाले बाढी र मौसमको सम्भावित अवस्थालाई नियमित अनुगमन गरिरहेको महाशाखाले जनाएको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा असोज १७ देखि १९ गतेसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारी वर्षा परेको उल्लेख गरिएको छ। कोशी प्रदेशका थुप्रै क्षेत्रहरूमा मध्यमदेखि अति भारी वर्षा भएको थियो। सो अवधिमा रौतहटको महेशपुरमा ३५८ मिलिमिटर, पर्साको मुडलीमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँमा ३३२.६ मिलिमिटर, काठमाण्डौको कन्यामटी स्टेटमा ३१४.२ मिलिमिटर र गौरमा ३१५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। असोज १९ गते बिहान ८;४५ बजे सम्म देशभर रहेका २९५ वर्षा मापन केन्द्रमध्ये १८६ मा वर्षा मापन भएको थियो। ती मध्ये १०५ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ मा १०० मिलिमिटरभन्दा बढी, २१ मा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको जानकारी दिइएको छ।
अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी घट्दो अवस्थामा पुगेको छ। तर सप्तकोशी नदीले खतरा तह पार गरिसकेको छ भने त्यसका सहायक नदीहरू—तमोर, सुनकोशी र अरुण पनि खतरा तह पार गरी घट्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। त्यस्तै, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रका नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक स्थिर रहेको र असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
