सशस्त्र प्रहरीले २६६१ सुरक्षाकर्मी मनसुन उद्धारमा तैनाथ गर्‍याे

काठमाडौँ असोज १८ । देशभर मनसुन सक्रिय भएसँगै सम्भावित विपद् व्यवस्थापन र उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलले २,६६१ जना जनशक्ति विभिन्न स्थानमा परिचालन गरेको छ।

शनिबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३३२ स्थानमा उद्धार टोली खटाइएको जानकारी दिनुभयो।

नदी तटीय क्षेत्र र राजमार्गमा सतर्कता

सशस्त्र प्रहरी बलले नदी किनार, राजमार्ग र समुदायहरूमा सचेतना फैलाउन माइकिङ गर्ने, जोखिमयुक्त स्थानमा बाँस र बोराका माध्यमबाट कटान रोक्ने, र आवश्यक सामग्रीसहित र्याफ्टिङ टोली तयारी अवस्थामा राखेको जनाएको छ। बस्नेतका अनुसार कोशी, गण्डकी, बागमती र मधेश प्रदेशमा १२९ वटा र्याफ्टिङ उपकरण परिचालन गरिएको छ। उद्धार टोली र एम्बुलेन्सहरू पनि स्ट्यान्डबाइमा राखिएका छन्।

सम्पर्क र सतर्कता अभियान

६७ जिल्लामा माइकिङमार्फत सचेतना अभियान चलाइएको छ भने सामाजिक सञ्जालमार्फत मनसुनजन्य जोखिमबारे जनतालाई सतर्क पार्ने सामग्रीहरू सार्वजनिक गरिएको छ। ३,६३६ जना विशेष तालिमप्राप्त जनशक्तिलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको जानकारी बस्नेतले दिनुभयो।

हिमाली पर्यटकलाई सतर्कता

हिमाली क्षेत्रमा रहेको पर्यटकलाई हिमपातको सम्भावना रहेकाले सुरक्षित स्थानमा फर्कन आग्रह गरिएको पनि बस्नेतले बताउनुभयो। हालसम्म कुनै गम्भीर घटना नघटेको र सुरक्षात्मक उपायहरूलाई प्राथमिकता दिइएको उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर