बारामा बसको ठक्करले दुई जनाको मृत्यु, चार घाइते

बारा असोज १५ । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ब्रेक फेल हुँदा दुई जनाको ज्यान गयो भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजेतिर हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुगेपछि ब्रेक फेल भयो र बस ब्याकिँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकलहरू पूर्णरूपमा चपेटामा परेका थिए। दुर्घटनामा मृत्यु हुनेमा बारा फेटा गाउँपालिका–१ का २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ की २६ वर्षीया कवितादेवी रहेका छन्। उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा दुबैको बाटोमै मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

घाइते हुनेहरूमा मकेश्वर पटेलकी २२ वर्षीया पत्नी कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन्। उनीहरूको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको छ। बस चालक, सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण केही समय सडक अवरुद्ध भएको थियो, जुन अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ। प्रहरीले दुर्घटनास्थलबाट बस र मोटरसाइकल दुबैलाई नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर