बारामा लागुऔषधसहित ट्रक नियन्त्रणमा, चालक पक्राउ

बारा असोज ६ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगंजमा ठूलो परिमाणमा गाँजा ओसारपसार गरिरहेको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब १ बजे अमलेखगंज प्रहरी चौकी अगाडि नियमित चेकजाँचको क्रममा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको बा २ ख ९५६९ नम्बरको मिनी ट्रकमा गाँजा फेला परेको हो। इलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ सई धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले ट्रकको छतमा त्रिपालले छोपेर बनाइएको फल्स बटमुमा लुकाइएको अवस्थामा २८ पोका गाँजा फेला पारेको थियो। बारा जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङका अनुसार प्लास्टिकमा प्याक गरिएको ती पोका तौल गर्दा करिब २३६ किलो ७५० ग्राम गाँजा रहेको पुष्टि भएको छ।

घटनासँग सम्बन्धित मिनी ट्रक र गाँजासहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएका लागुऔषध, ट्रक र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर